वेसहारा एकल महिलाको उपार्जनमा ‘गोठ निर्माण’ र पेवामा ‘लैनौ गाई’

तनहुँ : व्यास १० डिहिकुना निवासी ३३ बर्षीय श्रीमान् विशाल पण्डितको फागुन १० गते मृत्यु हुँदा १६ दिनकी सुत्केरी थिईन्, २८ बर्षीया श्रीमती जमुना भण्डारी पण्डित । पति वियोगमा विछिप्त जमुनाको त्यस क्षण त न घरमा खाने अन्न थियो नत लत्ताकपडा नै ।
तर अहिले व्यास नगरपालिकाको कार्यालय लगायतबाट सहयोग जुटेपछि भने जमुनाको जीवनमा आशा पलाएको छ । त्यसो त विभिन्न सहयोगी दाताहरुसँगै व्यास नगरपालिकाको कार्यालयले समेत ४० हजार रुपैंयाँ खर्चिएर गाईको गोठ र व्यास नगरपालिकाको कार्यालयले स्थानीय युवा अगुवा बलबहादुर शाहीसँगको साझेदारीमा ४५ हजार रुपैंयाँ पर्ने जर्सी गाई समेत किनेर विहिबार हस्तान्तरण गरिदिएपछि आफूमा बाच्ने र केही गर्ने आशा  जागेको जमुनाको भनाई छ । त्यसो त ९ बर्षीय छोरा आरष र ६ बर्षीय छोरा एलिसलाई समेत व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले तत्काल समता विद्यालयमा निशुल्क अध्ययन गर्ने व्यवस्था गरिदिनुभएपछि वेसहारामा ठुलो सहारा बनेर व्यास नगरपालिका देखा परेको जमुनाले बताउनुभयो ।
‘म जीवनप्रति हार खाएर बसेको मान्छे, यसरी व्यास नगरपालिकाको कार्यालयबाट दिगो साथ पाउँछु भन्ने लागेको थिएन,’ जमुनाले भन्नुभयो, ‘तर बेसहाराको सहारा भएर व्यास नगरपालिकाको कार्यालय देखा पर्यो । नगर प्रमुख न्यौपाने सरले समेत हामी छौं भन्दै पटक पटक सान्त्वना दिनुभयो । त्यसले गर्दा जीवनमा बाच्नु पर्छ र बाबु नानीलाई नयाँ जीवन दिनुपर्छ भन्ने सोंच जागेको छ ।’
अब त दैनिक दुध विक्रि गरेर दुईचार पैसा हातमा खेलाउन पाईने जमुनाले बताउनुभयो ।


त्यसै गरी ३ बर्षीया छोरी अक्सुलाई समेत स्थानीय सतिष माध्यामिक विद्यालयका संचालक दिर्घ दरैले निशुल्क पढ्ने व्यवस्था गरिदिनुभएपछि ८ महिनाकी छोरी आहानाको रेखदेख मात्र आफ्नो प्रत्यक्ष जिम्मेवारीमा परेको जमुनाले बताउनुभयो । आफूले पाल्दै आउनुभएको ६० हजार रुपैंयाँ पर्ने र दैनिक १० लिटर दुध दिने उक्त गाई जमुनालाई विक्रि गरेको डिहिकुना टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।
‘पैसा मात्रै सवै कुरा होईन । हाम्रो कार्यहरुमा पुन्यपनि जोडिनुपर्छ भनेर सस्तोमै गाई दिएको हुँ,’ अधिकारीले भन्नुभयो, ‘आफ्नै छोराछोरीलाई हुर्काए जस्तै स्याहार गरे यही गाईले दुई चार रुपैंयाँको गर्जो टार्छ ।’
व्यास नगरपालिकाको कार्यालयको अलावा दुखको समयमा विभिन्न मनकारीबाट करिव ३ लाख रुपैंयाँ संकलन भएको र करिव १ लाख रुपैंयाँ ऋण चुक्ता गरी बाँकी रहेको रकम आफूहरुको रोहवरमा स्थानीय एक सहकारीमा जम्मा गरिएको अनन्त व्यास आमा समुहकी अध्यक्ष सिता पहारीले बताउनुभयो ।
गाई हस्तान्तरण कार्यक्रममा व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, व्यास १० का वडा अध्यक्ष खेमराज पोख्रेल, वडा सदस्यहरु ईश्वर पौडेल, वासना कुँवर, रानीपानी वन उपभोक्ता समुहका अध्यक्ष प्रेमराज मिश्र, स्थानीय अगुवा सिता ओझा, सिस्ने गैह्रा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सदस्य पूर्णचन्द्र अधिकारी, अनन्त योग केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
व्यास नगरप्रमुख न्यौपानेले भोलीको सक्षम जनशक्ति नै आजका बालबालिका भएकोले व्यास नगरपालिकाको कार्यालयले गोठ निर्माण र गाई खरिदमा केही रकम बोहोरेको बताउनुभयो । जीवन निर्वाहमा समस्या परी बालबालिकाको शिक्षा दिक्षामै समस्या नहोस् भन्ने ठानेर नै व्यास नगरपालिकाको कार्यालयले समता विद्यालय स्थापना गरेको नगरप्रमुख न्यौपानेको भनाई छ ।
‘शिक्षाबाट कोही पनि बालबालिका बन्चित हुन नपरोस् भनेर नै समता विद्यालय स्थापना गरिएको हो,’ नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘त्यसको अलावा हामीले वेसहारा एकल महिलालाई प्रोत्साहन समेत गर्दै आएका छौं ।’
स्थानीयवासीको हरेक रेखदेख र विकास निर्माणमा स्थानीय सरकारकै दायित्व हुनुपर्नेमा समेत नगर प्रमुख न्यौपानेले जोड दिनुभयो । २०८१ फागुन १० गते श्रीमान्को मृत्यु भएपछि ७५ बर्षीया सासु आमा सरस्वतीसँगै जमुना बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्