प्रदेश अस्पताल दमौलीका डाक्टर पन्थले गरे पत्रकार नेपालीलाई अभद्र व्यवहार

तनहुँ : प्रदेश अस्पताल दमौलीका डाक्टर निराजन पन्थले समाचार संकलनको क्रममा पत्रकार सन्त नेपालीलाई मंगलबार अभद्र व्यवहार गरी समाचार संकलनमा अवरोध गर्नुभएको छ ।
अस्पतालमा विरामीको चाप बढेको विषयमा अडियो (आवाज) रेकर्ड गरेर समाचार टिपोर्ट गरेका पत्रकार नेपालीको मोवाईल एक्कासी खोसेर अडियो डिलिट गरी डा. पन्थले अभद्र व्यवहार गर्नुभएको पत्रकार नेपालीको भनाई छ ।
‘दमौली अस्पतालमा विरामीको चाप बढे बारेमा डा. पन्थलाई नै सोधेर समाचार संकलन गरेको थिएँ,’ पत्रकार नेपालीले भन्नुभयो, ‘डा. पन्थले एक्कासी मोवाईल खोसेर अडियो सामग्री समेत डिलिट गर्दै दुव्र्यवहार गर्नुभयो ।’
नेपाल पत्रकार महासंघ तनहुँका पूर्व उपाध्यक्ष तथा जनचाहना न्यूज डटकमका कार्यकारी सम्पादक समेत रहनुभएका पत्रकार नेपालीमाथि समाचार संकलनको क्रममा भएको अवरोधको विरोधमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले समेत मंगलबार नै प्रेस विज्ञप्ति निकालेर खेद प्रकट गरेको छ । महासंघ तनहुँ शाखाका सचिव कृष्ण न्यौपानेद्धारा जारी गरिएको विज्ञप्तिमा पत्रकार नेपालीको मोवाईल खोसेर अभद्र व्यववहार गर्ने डा. पन्थलाई कारवाही गरिनुपर्ने समेत माग गरिएको छ । डा. पन्थबाट पत्रकार नेपालीमाथि भएको व्यवहार निन्दनीय भएकोले कारवाही गरिनुपर्ने पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले बताउनुभयो ।
‘डा. पन्थको व्यवहार अभद्र मात्र नभई प्रेस स्वतन्त्रताको मर्म विपरित समेत रहेको हाम्रो ठहर छ,’ पत्रकार महासंघ तनहुँका अध्यक्ष अधिकारीले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्