तनहुँवासीको छवि उच्च हुने गरी काम गर्ने छु : मन्त्री न्यौपाने

तनहुँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आफूले तनहुँवासीको छवि उच्च हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री भएपछि पहिलो पटक तनहुँ आउनुभएकी मन्त्री न्यौपानेले पार्टीका नेता तथा कार्यकर्ताको विश्वासले गर्दा आफूले मन्त्रीको जिम्मेवारी प्राप्त गर्न सकेको बताउनुभयो । मन्त्री न्यौपानेले आफूले जुनसुकै पदमा रहँदा पनि ईमान्दारी पूर्वक निर्वाह गर्ने गरेकोले मन्त्री पद प्राप्त भएको बताउनुभयो । साथै मन्त्री न्यौपानेले आफूले प्रशासनीक क्षेत्रमा भएका वेथिती र विसंगतीलाई सहि मार्गमा ल्याउने प्रयास हुने बताउनुभयो । मन्त्री न्यौपानेले मन्त्रालयले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन सेवाग्राहीका गुनासाको सुनुवाई तथा समाधान गरिने बताउनु भएको छ । यसैको लागि मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना स्थापना भएको भन्दै मन्त्री न्यौपानेले उक्त केन्द्रमा आएका गुनासाहरु जतिसक्दो चाँडो प्रक्रियागत रुपमा समाधान गर्ने बताउनुभयो । सेवाग्राहीवाट प्राप्त गुनासाहरुको अध्ययन र बर्गिकरण गरी कार्वाही गर्नुपर्ने गुनासाको सम्बोधनका लागि तत्काल प्रक्रिया अगाडि बढाइने मन्त्री न्यौपानेले बताउनुभयो । शुक्रबार तनहुँको देवघाट, आबूँखैरेनी र बन्दीपुरका जनप्रतिनिधि, कर्मचारी र नागरिकहरुसँगको भेट तथा अन्तरक्रियामा बोल्दै मन्त्री न्यौपानेले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित् विषयका गुनासाहरु प्रक्रियागतरुपमा सम्बोधन गरिने बताउनुभयो । उहाँले कर्मचारी सरुवा सम्बन्धि मापदण्ड परिमार्जनको काम भईरहेको भन्दै त्यसपछि कर्मचारी सरुवामा एकरुपता हुने बताउनुभयो । सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहले विभिन्न बाहानामा हाजिर नगराउने प्रबृत्ति भएको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । तनहुँको विकासको लागि आफ्नो तर्फबाट सक्दो योगदान गरेको भन्दै उहाँले मन्त्रीको रुपमा अझैपनि बजेट बिनियोजन गर्न लागिपर्ने बताउनु भयो । मन्त्री न्यौपानेलाई देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले स्थानीय तहमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या भएको, संघीय निजामती ऐन जारी नहुँदा कर्मचारीहरुले काममा जाँगर नदेखाउने तथा वन ऐन तथा सार्वजनिक खरिद ऐन परिमार्जन गर्नुपर्ने लगायतका सुझाबहरु दिनुभएको थियो । मन्त्री न्यौपाने शनिबार दमौलीमा उद्योग वाणिज्य संघ र एमाले जिल्ला कमिटिद्धारा आयोजित कार्यक्रममा समेत सहभागी हुनुभएको थियो । उहाँ आईतबार समेत तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्