उद्यमशील सहकारीद्वारा ऋण असुलीमा शत प्रतिशत प्रगती

तनहुँ : व्यास नगरपालिका वडा नम्बर २ स्थित उद्यमशील बचत तथा ऋण सहकारीले स्थापनाकालदेखि हालसम्म ऋण असुलीमा शतप्रतिशत प्रगती गर्न सफल भएको छ । सहकारीले आर्थिक बर्ष ०८१/०८२ को पाँचौं बर्षमा पनि ऋण लगानीको असुली शतप्रतिशत गर्न सफल भएको हो ।
सहकारीले ४ करोड २५ लाख रुपैंयाँ  ऋण लगानी गरिएकोमा शतप्रतिशत असुली गर्न सकिएको सहकारीका अध्यक्ष बिकल्प श्रेष्ठले जानकारी दिनुभयो । सहकारीको कूल पूँजी ५ करोड ३६ लाख रहेको छ भने शेयर पूँजी २ करोड ७८ हजार ७ सय रुपैंयाँ रहेको  श्रेष्ठले बताउनुभयो ।  सहकारीले आगामी दिनमा प्रविधिलाई थप जोड दिदैं शेयर सदस्यहरुलाई थप सेवा विस्तार गर्ने योजना बनाएको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

संस्थामा कुल शेयर सदस्य संख्या ३ सय ३७ जना रहेका छन् । सहकारीले हालसम्म ४ करोड २५ लाख रुपैंयाँ ऋण लगानी गरेको र असुलीमा शतप्रतिशत प्रगती हाँसिल गरेको सहकारी संस्थाका ऋण लगानी उपसमिति संयोजक सुरेश अधिकारीले जानकारी दिनुभयो । ऋण लागनी शतप्रतिशत कायम गर्न ऋण लगानी उपसमिति सदस्यहरु पवनसिंह कार्की र रवि भुजेल लगायतको समेत साथ र समर्थन रहेको ऋण लगानी उपसमिति संयोजक अधिकारीले बताउनुभयो । स्थापनाको ५ बर्षसम्म संस्थाले नियमित रुपमा शतप्रतिशत प्रगती हाँसिल गर्दै आउनुमा व्यवस्थापक र कर्मचारीको अथक मेहनतको नजिता रहेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रविधिलाई आत्मसाथ गर्दै वेव वेस्ड फिन्याक्ट प्लस सफ्टवयर प्रयोग गर्दै उद्यमशील कोप आईस्मार्ट मोवाईल बैंकिङद्वारा बैंक र सहकारी विच रकमान्तरण, फोन पे, बचत र ऋणको कारोवार विवरण जाँच, स्क्यानद्वारा रकम राख्न र झिक्न सहज साथै सम्पूर्ण महशुल भुक्तानी गर्न सकिने साथै बजार प्रतिनिधिहरुद्धारा ट्यावमार्फत निक्षेप संकलन समेत गर्दै आईएको सहकारीका व्यवस्थापक गुरुङले बताउनुभयो । आर्थिक पारदर्शीताका साथै प्रभावकारी सेवा प्रदान गरिएकै कारण सदस्य बन्नको लागि सेवा क्षेत्र भित्रका वासिन्दाको चाप समेत गत बर्षको भन्दा बढेको सहकारी संस्थाकी लेखापाल सरस्वती खाँड बताउनुहुन्छ ।

मुलुकको जहाँसुकै बैंकबाट समेत रकम झिक्न सकिने सुविधा रहेको उद्यमशील सहकारी संस्थाले जनाएको छ । सहकारी पूर्ण प्रविधिमैत्री डिजिटलका साथ संचालनका कारण आम सदस्यहरुको आकर्षण बढ्दो रहेको बजारप्रतिनिधिहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्