काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सासँग सम्बन्धित उत्पादनलाई विदेशी बजारमा समेत निर्यात गर्ने बाटो खुला गर्नुभएको छ ।
परम्परागत स्वदेशी उत्पादनको बजार र पहुँच विदेशी बजारमा पुर्याउन मिल्ने गरी स्वास्थ्यमन्त्री पौडेलले मापदण्ड स्वीकृत गर्नुभएपछि बाटो खुला भएको हो । विभिन्न कम्पनीले मुलुकमा आयुर्वेदिक सहितका परम्परागत चिकित्सासँग सम्बन्धित औषधी उत्पादन गर्दै आएपनि मापदण्ड नहुँदा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुगेको थिएन । मापदण्ड स्विकृत भएपछि भने स्वदेशी कम्पनीहरुले खुशी व्यक्त गरेका छन् । औषधी विदेश निर्यात गर्न अति आवश्यक मानिने कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड प्रमाण आवश्यक भए पनि नेपालमा हालसम्म यो दिने गरिएको थिएन । यस समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलले औषधी उत्पादन कुशल अभ्यास दोश्रो संहिता स्वीकृत गर्नुभएपछि विदेश निर्यातको बाटो खुला भएको हो । यसका लागि उत्पादकले पूरा गर्नुपर्ने प्रक्रिया, भण्डारण, आधुनिक विधि लगायत समग्र विषयको मापदण्ड पालना गर्नुपर्नेछ । संहिताअन्र्तगतको मापदण्ड पालना भएमा नेपाली आयुर्वेदसहितका परम्परागत उत्पादकले औषधी व्यवस्था विभागबाट निर्यातका लागि आवश्यक पर्ने जिएमपी मापदण्डको प्रमाण प्राप्त गर्नेछन् । यसले नेपाली आर्युर्वेद, होमियोप्याथीसहितका औषधी उत्पादनमा संलग्नलाई आफ्ना स्तरीय उत्पादनको निर्यातबाट लाभ लिने बाटो खुला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

कुराकानी खबर 






प्रतिक्रिया दिनुहोस्