घिरिङमा जातीय विभेद र छुवाछुत विरुद्ध सचेतना कार्यक्रम

तनहुँ : घिरिङ गाउँपालिकाका दलितलाई सामाजिक कुरिती विरुद्ध सचेतना तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आयोजना, घिरिङ गाउँपाकिाको आतिथ्यता र मिजार समाज घिरिङको सकृयतामा सोमबार घिरिङ ३ मा समाजमा रहेका कुसंस्कार र कुरिती विरुद्धको सचेतना तालिम प्रदान गरिएको हो ।


तालिमको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले अझैपनि समाजमा जातीय आधारमा छुवाछुत र विभेद हुनु दुखद् भएकोले त्यसको अन्त्यको लागि सबै समुदायको रचनात्मक भूमिका आवश्यक रहेको बताउनुभयो । दलित समुदायमाथि छुवाछुत र विभेद गरिनु दण्डनीय अपराध भएकोले सबै मिलेर छुवाछुत र विभेद रहित समाज निर्माण गर्न आवश्यक रहेको पालिकाका अध्यक्ष थापाले बताउनुभयो । समाजमा ठुलो हिस्सा ओगट्ने दलितहरुलाई पाखा लगाएर समाज विकासको गति अघि बढ्न नसक्ने उहाँको भनाई छ । घिरिङ गाउँपालिकाका पुर्व अध्यक्ष रनबहादुर थापाले समुदाय विचको भाईचारा र सम्बन्ध विकासमा दलितको अलावा सबै जातजातीको समान सहभागिता हुन आवश्यक रहेको बताउनुभयो । जातीय भेदभाव र छुवाछुतलाई अन्त्यको लागि सबै जिम्मेवार हुन अपरिहार्य रहेको उहँले बताउनुभयो । जातीय विभेद, लैंगिक हिंसा, बालविवाह, दाईजो प्रथा लगायतका समस्याहरु समाजमा अझैपनि व्याप्त रहेकोले समाजले सकारात्मक गति लिन नसकेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताउनुभयो । दलित समुदाय भित्र रहेको प्रतिभालाई सहि काममा लगाउन सवल नेतृत्व आवश्यक पर्ने समेत उहाँले बताउनुभयो ।


मिजार समाज नेपाल तनहुँ शाखाका अध्यक्ष रनसिं नेपालीले समाजमा जातजातिको आधारमा गरिने विभेदलाई परास्त गर्न राज्यका सबै तहको सरकारले विशेष अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभयो । मिजार समाज केन्द्रीय सदस्य डिलबहादुर नेपाली, घिरिङ मिजार समाजका अध्यक्ष टुकबहादुर नेपाली लगायतले दलितहरु सत्तामा नपुग्दासम्म जातीय समानता असम्भव रहेको बताउनुभयो । स्थानीय तहको नेतृत्व तहदेखि विभिन्न तहमा दलितलाई अवसर प्रदान गर्न सके मात्र समानता कायम हुने बताउनुभयो ।
तालिममा पत्रकार पूर्ण विकेले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को कानुनी प्रावधान र नागरिक समाजको काम, कर्तव्य र अधिकारको बारेमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी घिरिङका अध्यक्ष चुननारायण श्रेष्ठ, स्थानीय नेता भक्तबहादुर श्रेष्ठ लगायत दलित अगुवाहरु नहलसिं विक लगायतले जातीय विभेद दण्डनीय अपराध भएकोले जातीय विभेद र छुवाछुत गर्न नहुनेमा जोड दिनुभयो ।


सामाजिक विकास कार्यालयका सहायक भानुभक्त थापामगरले कार्यक्रम संचालन गर्नुहुँदै कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताको लागि धन्यवाद व्यक्त गर्नुभयो । तालिममा घिरिङ गाउँपालिका क्षेत्रका ४० जना महिला सहित ६० दलित सहभागी रहेका थिए । सामाजिक विकास कार्यालय तनहुँले महिला, अपांगता भएका, दलित लगायतको क्षमता र सिप विकासमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्