महिलालाई आत्मनिर्भर बनाउन घिरिङ गाउँपालिकाको अग्रसरता

तनहुँ (जेठ १३) : घरायसी कामकाजमा रमाएका महिलालाई घिरिङ गाउँपालिकाको कार्यालयले आत्मनिर्भर बनाउने कार्यको शुभारम्भ गरेको छ । घरको काम गरेर पनि आर्थिक उपार्जन गरी आम्दानी लिन सकिने भएपछि घिरिङ गाउँपालिकाको कार्यालयले पालिकाका महिलाहरूलाई होजियारी स्विटर सिलाई बुनाई र अचार बनाउने तालिम प्रदान गरेको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नं २ का १६ जना महिलालाई वैशाख ११ गतेदेखि एक महिनासम्म होजियारी एवं स्वीटर सिलाई बुनाई सम्बन्धी तालिम प्रदान गरेको हो । तालिमपछि आफूहरुले सिप आर्जन गरी आर्थिक उपार्जन गर्न सक्ने आत्माविश्वास बढेको तालिममा सहभागी मिना थापाले बताईन् । सोही वडाका १४ महिलालाई वैशाख ११ गतेदेखि ३ दिनसम्म विभिन्न फलफूल र तरकारी लगायतको अचार बनाउने तालिम प्रदान गरिएका हो । तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले समृद्ध पालिका निर्माणको लागि महिलाहरु सक्षम हुन आवश्यक ठानेर आफूहरुले तालिम प्रदान गरेको बताउनुभयो । ‘गाउँका महिलाहरु घरधन्दासँगै आर्थिक उन्नतीको यात्रामा पनि अघि बढ्नुपर्छ भन्ने हामीले ठानेर तालिम प्रदान गरेका हौं ।’ अध्यक्ष थापाले भन्नुभयो, ‘तालिमपछि सिकेका सिपलाई दिदीबहिनीहरुले व्यवहारमा उतार्ने र स्वरोजगार अपनाउनुपर्छ भन्ने ठान्दछु ।’ घिरिङ २ नं. वडाका अध्यक्ष नरबहादुर थापा, गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नं ३ का अध्यक्ष तहलसिंह थापा र गाउँपालिकाका सूचना अधिकारी तथा कार्यक्रमका संयोजक ध्रुब लामिछानेले लगायतले स्वरोजगारीमार्फत आर्थिक उपार्जन गरी घिरिङ गाउँपालिकालाई नमुना बनाउन तालिम प्राप्त महिलाहरु अग्रसर हुनुपर्ने बताउनुभयो । तालिमको समापनको अवसर पारी महिलाहरुलाई सिलाई मेसिन, इन्टरलक मेसिन र होजियारी बुन्ने मेसिन समेत हस्तान्तरण गरिएको थियो ।
(पत्रकार अन्जान परियारको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया दिनुहोस्